नियम
भौतिक विकास योजनाको तर्जुमा र स्वीकृति –
(१) प्राधिकरणले ऐनको दफा ५ बमोजिम भौतिक योजना तर्जुमा गर्दा काठमाडौं उपत्यकाको दिगो विकास तथा व्यवस्थापनको लागि काठमाडौं उपत्यकालाई एउटै योजना इकाईको रुपमा लिई दीर्घकालीन विकास अवधारणा, सम्बन्धित नीति, मापदण्ड, विषयगत योजना तथा नक्सालाई समेत आधार लिई तर्जुमा गर्नु पर्नेछ ।
(२) नेपाल सरकारले ऐनको दफा ५ को उपदफा ५.२ बमोजिम भौतिक विकास योजना स्वीकृत गरेपछि सो योजनाको विस्तृत विवरण सहितको सूचना सर्वसाधारणको जानकारीको लागि नेपाल राजपत्रमा प्रकाशन गर्नु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम भौतिक विकास योजना सम्बन्धी विवरण नेपाल राजपत्रमा प्रकाशन भएपछि त्यस्तो योजना लागू भएको मानिनेछ ।